काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश भएको उल्लेख गर्दै सभापति देउवाले सबैलाई एकसाथ समेटेर लैजानुपर्ने बताए । “कुनै पनि पार्टीको बहुमत छैन, त्यसैले कुनै न कुनैसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ, आवश्यकता पनि यही हो,”– उनले भने ।
कांग्रेसको आदर्श र सिद्धान्तमा अन्य पार्टी पनि आएका र त्यसमानेमा पार्टीको जित भएको उनको भनाइ थियो । “बहुदलीय प्रजातन्त्र हाम्रो सिद्धान्त र आदर्श हो, यसमा समावेशी र समानुपातिक पनि राखिएको छ,”– देउवाले भने ।