Logo

सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने



काठमाडौं, ४ पुस । सरकारले उखुको खरिद मूल्य तोकेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो । यो सँगै अब उद्योगहरुले उखु किसानहरुलाई प्रति क्वीन्टल पाँच सय ६५ दिनु पर्ने भएको छ ।

त्यसमा सरकारले प्रति क्वीन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको छ । यो सँगै उखुको खरिद मूल्य अनुदानसहित प्रति क्वीन्टल छ सय ३५ रुपैयाँ तोकिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।

‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा एउटामात्रै निर्णय गरिएको छ । उखुको मूल्य उद्योगले पाँच सय ६५ प्रति क्वीन्टल दिनुपर्ने भन्ने निर्णय भयो । उखु कृषकलाई ७० रुपैयाँ प्रति क्वीन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ । किसानले प्रति क्वीन्टल छ सय ३५ रुपैयाँ पाउने निर्णय भएको छ,’– मन्त्री शर्माले भनिन् ।

आजको मन्त्रिपरिषद् बैठकमा सरकारको काम कारबाहीका बारेमा छलफल र समीक्षा भएको उनले बताईन् । अन्य औपचारिक निर्णय भने नभएको उनको भनाइ छ ।

गत वर्ष पनि सरकारले उखु किसानहरुलाई प्रति क्वीन्टल ७० रुपैयाँनै अनुदान उपलब्ध गराएको थियो । उद्योगहरुले किसानलाई दिनुपर्ने मूल्य भने पाँच सय ४० रुपैयाँ तोकिएको थियो । यो सँगै उद्योगहरुले अघिल्लो वर्षको भन्दा प्रति क्वीन्टल २५ रुपैया बढि तिरेर किसानसँग उखु किन्नुपर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्