काठमाडौं,४ पुस । सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न मधेश प्रदेश सम्मेलनमा सभापति शेरबहादु रदेउवापछिको दोस्रो वरीयतामा नेता डा.शेखर कोइरालालाई राख्न आवाज उठेपछि विवाद सिर्जना भएको छ ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको हो । नेता कोइराला पक्षका ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका हुन् ।पुस ५ र ६ गते जनकपुरमा हुन लागेको सम्मेलनमा नेता कोइरालालाई दोस्रो वरीयतामा आसन ग्रहण गराउनुपर्ने भन्दै प्रदेश कार्यसमितका आठ नेताले फरक मत राखेका हुन् ।
मधेस प्रदेशका वरिष्ठ नेता रामसरोज यादव, रविनचन्द्र कोइराला, रेखा यादव, प्रमेश पोखरेल, उदयनारायण चौधरी, तांग अलि अन्सारी,नितु झालगायतले कोइरालालाई दोस्रो वरीयतामा राख्नुपर्ने माग गरेका छन् ।
“नेपाली कांग्रेसको केन्द्रीय सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुने नेताहरूलाई वरिष्ठतम् नेताको रूपमा दोस्रो वरीयतामा राखी सम्मान गर्ने ऐतिहासिक परम्परा विगत लामो समयदेखि रही आएको छ । त्यति मात्र होइन भर्खरै सम्पन्न नेपाली कांग्रेसको लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा समेत डा। शेखर कोइरालाज्यूलाई वरिष्ठ नेताको रूपमा केन्द्रीय सभापति शेरबहादुर देउवाज्यूपछि आसन ग्रहण गराएको उदाहरण सर्वविदित नै छ,” सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको फरक मतमा भनिएको छ ।
पार्टीको २५ औँ वरियतामा रहेका कोइरालालाई इतर पक्षका प्रदेश सभापति रहेका लुम्बिनी र गण्डकीमा दोस्रो वरियतासहित विशिष्ट अतिथि बनाइएको थियो ।
कोइराला कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । हाल कांग्रेसको केन्द्रीय समितिमा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।