काठमाडौं,५ पुस । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलनमा वरीयतालाई लिएर विवाद सिर्जना भएको छ ।
जनकपुरमा आजबाट सुरु भएको प्रथम सम्मेलनमा प्रमुख अतिथि रहेका पार्टी सभापति शेरबहादुर देउवा रहेका थिए । तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ ।
प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन् ।
आसन ग्रहणका लागि पूर्व उपसभापति समेत रहेका नेता निधिलाई पटक पटक मञ्चमा बोलाए । तर उनी उद्घोषकको कुरा नसुने जस्तै दर्शकदीर्घामै बसिरहे । स्रोतका अनुसार उनी पनि आसन ग्रहणको मर्यादाक्रममा असन्तुष्ट छन् ।
बुधबार मधेश कांग्रेसका ८ नेताले सभापति देउवालाई पत्र लेख्दै नेता शेखरलाई दोस्रो वरीयता दिलाउन माग गरेका थिए । कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका कोइराला हाल कार्यसमितिमा २५ औं वरीयतामा छन् ।
उता पूर्व उपसभापतिसमेत रहेका निधि भने पार्टीमा १६औं वरीयतामा रहेका छन् । हाल कांग्रेसको कार्यक्रममा देउवापछिको वरीयतामा उपप्रधानमन्त्री समेत रहेका उपसभापति पूर्णबहादुर खड्का रहको छन् ।
तर, कोइराला र निधि खड्कालाई दोस्रो वरीयतामा राखिएको भन्दै असन्तुष्ट रहेको कांग्रेस निकट स्रोतले जनाएको छ । यसअघि कांग्रेसमा महाधिवेशनमा सभापतिको प्रत्यासी रहेकालाई वरिष्ट नेताको दर्जासहित दोस्रो वरीयतामा राख्ने चलन रहेको भन्दै कोइरालाले पनि उक्त वरीयता खोजेको स्रोतको दाबी छ ।