काठमाडौं, ६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काललाई मन्त्रिपरिषद् पूनगर्ठन नगर्ने भएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनअघि मन्त्रिपरिषद् पूनर्गठन नगर्ने प्रधानमन्त्रीको तयारी छ ।
आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा यही पुषको दोस्रो साता मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका प्रधामन्त्री दाहाल एकाएक रोकिएका हुन् । उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेर मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका थिए ।
तर, राष्ट्रियसभाको निर्वाचनअघि मन्त्रिपरिषद् पूनर्गठन भए निर्वाचन नै तलमाथि हुनसक्ने उनको बुझाई छ । आज (शुक्रबार) मात्रै प्रधानमन्त्री दाहालले सुनसरी पुगेर आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा नयाँ एक धक्का दिन लागेको र त्यो आफ्नो राजनीतिक जीवनको क्रमभंगता नै हुने दाबी गरेका छन् ।
हिजोमात्रै प्रधानमन्त्री दाहालले मन्त्रीहरुलाई बोलाएर कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै कामको गति बढाउन निर्देशन दिएका थिए । एक साताभित्र पनि कार्यप्रगतिमा सुधार नदेखिए एक्शन लिने उनको मन्त्रीहरुलाई चेतावनी थियो ।
प्रधानमन्त्री दाहालले कतिपय प्रदेशमा समेत तत्काललाई मन्त्रिपरिषद् विस्तार नगर्न सुझाएका छन् । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको थियो । तर, प्रधानमन्त्री दाहालले राष्ट्रियसभाको निर्वाचनअघि मन्त्रिपरिषद् विस्तार नगर्न भनेका छन् । file photo