काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको ब्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताएका छन् । वर्तमान व्यवस्थाले समावेशी र समानुपातिक रुपमा सबैलाई समेटेको उनको भनाई छ । उक्त कार्य एकदमै राम्रो र महत्वपूर्ण रहेको उनले बताए ।
आज (शनिबार) कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताउँदै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
‘हामी सबैले मिलेर, कांग्रेसले खासगरी नेतृत्वदायी भूमिकामा बसेर, हामीले नेपाललाई जो अहिले समावेशी समानुपातिक ब्यवस्था स्थापित गरेका छौं ।’ सभापति देउवाले भने, ‘यो अत्यन्तै महत्वपूर्व हो । यो सबैको समावेशितमा आधारित ब्यवस्था हो । यो ब्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना रहँदैन ।’
साथै, अहिले राष्ट्र दोधार र संकटकालमा उभिएको उनको टिप्पणी छ । ‘राष्ट्र एउटा दोधारमा उभिएको छ । राष्ट्र एउटा संकटकालमा उभिएको छ,’– उनले भने ।
साथै, उनले ग्रास रुटदेखि नै कांग्रेसलाई बलियो बनाउने गरी लाग्न आग्रह गरे । वर्तमान अवस्थामा पार्टीमा मेलमिलापको आवस्यकता रहेको उनले बताए । पार्टीको आन्तरिक निर्वाचनमा हार जित जे भएपनि त्यसपछि एकले अर्कोलाई सहयोग गरेर पार्टीलाई थप सुदृढ बनाउने तर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।