काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको मुख्यमन्त्री बन्नका लागि इन्द्र बानियाँलाई ग्रिन सिग्नल दिएका छन् । कांग्रेस बागमती प्रदेश सम्मेलनका लागि काठमाडौं आएका बानियाँलाई देउवाले मुख्यमन्त्रीका लागि तयारी थाल्नका लागि भनेको उनी निकट स्रोतले बताएको छ ।
्
्अहिले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता भने बहादुर सिंह लामा छन् । गत २०७९ मा सम्पन्न निर्वाचनपछि संसदीय दलको नेता छान्नका लागि भएको निर्वाचनमा बानियाँ र लामाबीच प्रतिस्पर्धा भएको थियो । उक्त संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मतमात्रै पाएका थिए ।
कूल एक सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसबाट ३७ सांसद छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट २१ सांसद छन् । नेकपा (एकीकृत समाजवादी पनि सरकारमा सहभागी छ । बागमती सरकारको नेतृत्व कांग्रेस र माओवादीले आधा–आधा कार्यकाल गर्ने सहमति छ । सोही सहमति बमोजिम प्रदेश सरकारको नेतृत्व अहिले माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका शालिकराम जमकट्टेलले गरिरहेका छन् ।
आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार जम्मकट्टेलको कार्यकालपछि कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । कांग्रेसले सरकारको नेतृत्व पाउँदै गर्दा अहिले संसदीय दलको नेता रहेका लामाले पाउने छन् । तर, देउवाले बानियाँलाई ग्रिन सिग्नल दिएर तयारीका लागि भनेपछि लामा मुख्यमन्त्री बन्ने सम्भावना टर्दै जाने देखिएको छ । उसो त लामा मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री छन् ।
बानियाँ अघिल्लो कार्यकालमा दलको नेता भएर प्रदेश सभामा प्रतिपक्षको भूमिका निर्वाह गरिसकेका छन् । उनी यस पटक मुख्यमन्त्री बन्ने लक्ष्यका साथ प्रदेश सभाको निर्वाचनमा सहभागी भएका थिए । उसो बानियाँ र लामा दुवै संस्थापन पक्षका नेता हुन् ।