काठमाडौं,११ पुस । नेपाल विद्युत प्राधिकरणले आफूखुसी ठूला उद्योगको विद्युत् काटिदिएपछि मर्कामा परेका उद्योगी व्यवसायीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवाद उत्कर्षमा पुगेपछि व्यवसायीले बुधबार देउवा निवास धुम्बराहीमा पुगेर उनीहरुले आफ्नो गुनासो व्यक्त गरेका हुन् ।
प्राधिकरणले जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल, हुलास स्टिल, सर्वोत्तम सिमेन्टलगायतका ठूला उद्योगको विद्युत काटेपछ व्यवसायीहरु असन्तुष्ट बनेका छन् । असन्तुष्ट उद्योग व्यवसायीले देउवालाई भेटेर यस सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन सरकारसमक्ष कुरा राखिदिन आग्रह गरेका छन् ।
उद्योगी व्यवसायीलाई देउवाले पनि माग सम्बोधनका लागि आफूले भरपूर प्रयास गर्ने र आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा राख्ने आश्वासन दिएका छन् ।
लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि प्राधिकरण र उद्योगीबीच विवाद बढिरहेको छ । ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर प्राधिकरणले निरन्तर ठूला उद्योगको विद्युत काटिरहेको छ ।