काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र) ले पार्टीको चार महिने रुपान्तरण विशेष अभियान उद्देश्यअनुसार सफल भएको बताएको छ । आज (मंगलबार) जनतासँग माओवादी विशेष रुपान्तरण अभियान समापनपछि पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले अभियान उद्देश्यअनुरुप सफल भएको र टोल कमिटीदेखि नै संगठन पुनर्गठन भएको बताएका हुन् । माओवादी प्रवक्ता सापकोटाले अभियानले जनतामा नयाँ आशा र जागृति आएको दाबी गरेका छन् ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यअनुसार सफल भएको छ । टोल कमिटीदेखि संगठन पुनर्गठन भएको छ । सक्रिय भएका छन् । चलायमान भएका छन् ।’ उनले भने, ‘सारमा भन्दाखेरि कार्यकर्ताहरुमा जागृति आएको छ । जनतामा आशा पलाएको छ । यो अभियानले चुनावको बेलामा मात्रै होईन, माओवादी चाहीँ अरु बेला पनि आउँदा रहेछन्, आए भन्ने खाल्को जनतामा आशाको झिल्काहरु पैदा भएको छ ।’
अभियानपछि नबनेका ठाउँमा संगठन बनेको र निष्कृय संगठनहरु चलायमान भएको उनको दाबी छ । साथै, पुराना– पुराना नेता तथा कार्यकर्तालाई समेत अभियानले पार्टीमै फर्काउन सफल भएको उनको दाबी छ । उनले अभियानका क्रममा पार्टी प्रवेश गर्नेहरुको संख्या पनि उल्लेखनीय पाइएको बताए ।
‘बनेका ठाउँको संगठनहरु सक्रिय थिएनन्, तिनीहरु सक्रिय र सुदृढ भएको छ । नबनेको ठाउँमा संगठनहरु बनेको छ । पहिला छिटफुट निस्कृय भएर बस्ने, कतिपय सन्दर्भमा पार्टीबाट पलायन हुनेजस्ता पनि घटना क्रमहरु देखापर्थे भने यसले चाहीँ अहिले पार्टीबाट पलायन हुने कुरा अन्त्य भयो । पुराना पुराना कार्यकर्ता पनि जोडिएका छन् । पार्टी प्रवेश हुने काम पनि भएको छ,’– प्रवक्ता सापकोटाले भने ।