काठमाडौं, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले दुई जना युवाको ज्यान जानेगरी बालकुमारीमा भएको घटनालाई लिएर पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्ना मन्त्रीको बचाउ गरेको टिप्पणी गरेका छन् ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष नेपालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गल्ती ढाकछोप गर्ने काम गरेको टिप्पणी गरेका हुन् । मन्त्री ज्वाला सोही बाटो आउँदा उक्त घटना घटेको कुरा संसदीय समितिमा व्यापक छलफल भएको र समितिनै बनेर छानविन भइरहेको अवस्थामा पूर्व प्रधानमन्त्रीनै आफैं न्यायाधीश बनेर बचाउमा लागेको टिप्पणी गरेका हुन् ।
‘अस्ती भौतिक पूर्वाधारमन्त्रीको गल्ती हो भनेर संसदीय समिति लगायत सबै सबै ठाउँमा भयो । छानविन समिति पनि बन्यो । तर, माधव नेपालले चाहीँ होईन, गल्ती छैन भनेर भन्नुभयो ।’ उनले भने, ‘त्यो कानुनको अवहेलना हो । समिति बनेर वा मुद्दा दायर भएपछि तपाईँ निर्णय सुनाउँदै हिड्नुहुन्छ भने त्यो कानुनको अवहेलना हो । समिति बनेकोमा पनि उहाँले गल्ती छैन भनेर आफैं न्यायाधीश बन्दै हिँड्नुहुन्छ ।’