काठमाडौँ, १९ पुस । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले मधेशवादी दलका शीर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर र सिके राउतसँग संयुक्त भेटवार्ता गरेका छन् । आजमात्रै काठमाडौं ओर्लिएका विदेशमन्त्री जयशंकरको व्यस्त कार्यतालिका छ । जयशंकर र यादवसहित ठाकुर र राउतहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको बताईएको छ ।
यादव, ठाकुर र राउतसँगको भेटवार्ताबारे जयशंकरले सामाजिक सञ्जाल एक्समा उनीहरुसँग भेट हुँदा खुशी लागेको उल्लेख गरेका छन् । र, सो भेटवार्तामा नेपाल र भारतबीचका द्धिपक्षीय सहकार्य र विकास साझेदारीबारे फलदायी अन्तरक्रिया भएको जयशंकरले जनाएका छन् ।
भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी भ्रमण सम्पन्न गरी भोलि पुस २० गते स्वदेश फर्कने कार्यक्रम छ ।