काठमाडौँ, २० पुस । सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धनका लागि नेपालभित्रकै उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएकी छन् ।
आज भृकुटीमण्डपमा आयोजित ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिर्दै मन्त्री गुरुङ्गले नेपालको उत्पादनलाई प्रवद्र्धन गर्ने नीति सरकारले लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको बताइन् ।
“सकेसम्म नेपालमै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने नीति सरकारले बनाएको छ । तर त्यसको कार्यान्वयनको प्रभावकारिता देखिँदैन”, उनले भनिन्, “हामीले चाहने हो भने असम्भव केही छैन । नेपालमै उत्पादित काष्ठजन्य वस्तुलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धी बनाउन सरकारका तर्फबाट पनि सहुलियतलगायतका व्यवस्था हुन आवश्यक छ ।”
सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१ जारी भएयता सार्वजनिक निकायले आफूले उपयोग गर्ने वस्तु स्वदेशभित्रै उत्पादित हुनुपर्ने व्यवस्था छ । स्वदेशी उद्योग तथा व्यवसायको प्रवद्र्धनका लागि यस्तो निर्देशिका ल्याइएको भए पनि त्यसको कार्यान्वयनमा भने समस्या रहेको उनको भनाइ छ ।
नेपालमा उत्पादित वस्तुको विश्वसनीयता कम हुने र विदेशी वस्तु भन्नेबित्तिकै राम्रो गुणस्तरको हुन्छ भन्ने भ्रम पनि आममानिसमा रहेको पनि मन्त्री गुरुङले बताइन् । नेपालमा उत्पादित वस्तु तथा सेवा पनि गुणस्तरीय र मूल्यमा समेत प्रतिस्पर्धी रहेको उनको भनाइ छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले आयोजना गरेको प्रदर्शनी आइतबारसम्म चल्नेछ । प्रदर्शनीमा काठबाट निर्मित सामग्री, भवनको आन्तरिक साजसज्जाका सामग्रीलगायत वस्तु राखिएका छन् । रासस