काठमाडौं, २३ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले आसन्न माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि आज (सोमबार) मनोनयनको लागि समय निर्धारण गरेको छ । सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार सिटौला र कार्कीले प्रदेश राजधानी विराटनगर पुगेर मनोनयन दर्ता गराएका हुन् ।
कोशीमा दुई रिक्त हुने दुई सिटका लागि निर्वाचन हुँदैछ । नेकपा (एमाले) ले कोशीमा रुक्मिणी कोइराला र परशुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । कोइराला र अधिकारीले अहिलेसम्म मनोनयन दर्ता गराएका छैनन् ।