काठमाडौं, २३ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमतीमा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आज (सोमबार) निर्वाचन अधिकृतको कार्यालय हेटौंडा पुगेर सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार विष्णु कुमारी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्ण अधिकारी र घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गराएका हुन् ।
गठबन्धन दलले बागमतीमा कांग्रेसबाट बस्नेत र पुडासैनी, माओवादीबाट अधिकारी र नेकपा (एकीकृत समाजवादी) बाट विश्वकर्मालाई साझा उम्मेदवार बनाएको हो ।
महिला क्लस्टरमा पुडासैनी, अन्य क्लस्टरमा बस्नेत, अपाङ्ग क्लस्टरमा अधिकारी र दलित क्लस्टर विश्वकर्माले मनोनयन दर्ता गराएका छन् ।
बागमतीबाट राष्ट्रिय सभामा ४ सिट रिक्त हुँदैछ । रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।