Logo

रुकुमपश्चिमका उमेशले जिते एक लाख राशीको राप्रपाको कविता प्रतियोगिता



काठमाडौँ, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा ‘पृथ्वीनारायण शाह’का बारेमा आह्वान गरेको कविता प्रतियोगितामा रुकुमपश्चिमका उमेश पुनमगर पहिलो भएका छन् । उनको ‘देशभित्र देखेको देश’ कविता प्रथम भएको छ । यसैगरी कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, सङखुवासभाका सिजन श्रेष्ठको ‘पृथ्वीको यात्रामा पृथ्वी’ तृतीय भएको छ ।

यस्तै दाङका अविरल डिसीको ‘बाँचौँ नेपाली बनी’, म्याग्दीका निरुता बुढाथोकीको ‘ए मेरा सन्तति हो’ र लमजुङका प्रवीण अधिकारीको ‘बडामहाराजलाई पत्रले’ प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ ।

विजेतालाई प्रथम पुरस्कारस्वरुप एक लाख रुपैयाँ, द्वितीय पुरस्कारस्वरुप ५० हजार रुपैयाँ, तृतीय पुरस्कारस्वरुप २५ हजार रुपैयाँ (तीन जना प्रत्येकलाई) प्रोत्साहन पुरस्कारस्वरुप १० हजार रुपैयाँका दरले यही पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा हुने जलपान समारोहका बीच पुरस्कृत गरिने राप्रपाले जनाएको छ । सोही दिन विजेताको कविता वाचनसमेत हुने पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए।

राप्रपाले गत मङ्सिर २७ देखि पुस १५ गतेसम्मको समयसीमा तोकेर ४० वर्षमुनिका युवालाई सहभागी हुन पाउनेगरी कविता प्रतियोगिताको खुला आह्वान गरेको थियो । प्रतियोगितामा तीन सय पाँचजना सर्जकले सहभागीता जनाएका थिए । वरिष्ठ कवि तथा साहित्यकार विश्वबिमोहन श्रेष्ठ, डा नवराज लम्साल र मोमिला जोशीले उत्कृष्ट कविता छनोट गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्