काठमाडौं, २५ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले पक्राउ परेका रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सार्वजनिक गरेको छ । सिआईबीले बम्जनलाई हिजो बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बाराको हलखोरिया आश्रमका बस्दै आएकी आनीमाथि बाल यौन शोषण गरेको मुद्दामा बम्जन २०७१ साउनदेखि फरार थिए ।
बम्जनको साथबाट प्रहरीले १७ देशको मुद्रासहित ठूलोमात्रामा रकम बरामद गरेको थियो । ‘रामबहादुर बम्जनलाई पक्राउ गर्दाखेरी निजको निवासबाट ठूलो संख्यामा नेपाली तथा विदेशी रुपैयाँसमेत बरामद गरिएको छ । बरामद नेपाली रुपैयाँ तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ । विभिन्न १७ देशमा मुद्राहरु नेपालीमा कन्भर्ट गर्दा ३० लाख ९२ हजार चार सय ६ रुयैयाँ बरामद भएको थियो,’– सिआईबीका प्रवक्ता दिनेश आचार्यले भने ।
प्रहरीले बम्जनको निवासबाट मोटरसाइकलको क्लुबुक ३ थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, सोनी लेखिएको भ्वाइस रेकर्डर १ थान, विभिन्न ब्राण्डका मेमोरीकार्ड २ थान, ल्यापटप २ थान, विभिन्न ब्राण्डका मोबाईल १४ थान, आई–प्याड र ट्याबहरु ५ थान बरामद गरेको छ ।
बम्जनले तुलाराम तामाङको नाममा रहेको प्रदेश–३–०१– ०२४ च ६७२९ नम्बरको सेतो रङ्गको टोयटा फच्र्युनर गाडी प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । साथै, सेतो रङ्गको ल्याण्ड क्रजर एक्सजेड गाडी बम्जनको प्रयोगका लागि पाँच करोडमा बुक भएको र तीन करोड नगदै भुक्तानीसमेत भइसकेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल