काठमाडौं,२६ पुस । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मघर तेह्वथुम पुगेका छन् ।
बसधबार तेह्रथुमको अठराई गाउँपालिका ४ ईवामा रहेको ओलीको जन्मघरमा पुगेका प्रसाईंले सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरेका छन् । उनले ओलीकै शैलीमा तस्बिरसमेत खिचाएका छन् ।
‘इवा गाउँ हजुरबुवा केपी ओलीको जन्मघरमा आज,’ भ्यालमा बसेको तस्वीर फेसबूकमा राख्दै उनले लेखेका छन् ।
एमालेले गत महिना सम्पन्न गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संस्ल्प यात्राको क्रममा ओलीले पनि आफ्नो जन्म घर पुगेर सोहि शैलीमा तस्बिर खिचेका थिए ।
प्रसाई कुनैबेला ओली नेतृत्वकै पार्टी नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । गत आम निर्वाचनमा झापा ३ बाट टिकटको अपेक्षा गरेका उनले एमालेले सो क्षेत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई छाडेपछि एमाले छाडेर राजावादी बनेका थिए । उनी राजावादी बनेपछि एमालेले उनलाई पार्टीबाट हटाएको थियो । त्यसपछि ओली र प्रसाई आमनेसामने हुँदै आएका छन् । प्रसाईं ओलीको कट्टर आलोचकको रुपमा चिनिँदै आएका छन् ।
जति आलोचना गरे पनि प्रसाईंले ओलीलाई हजुरबुवा भन्न चाहिँ छोड्ने गरेका थिएनन् । बुधवार पनि उनले त्यही साइनो लगाएका छन् ।
प्रसाई नेतृत्वको अभियानले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गरेकै दिन एमालेले पनि काठमाडौंमा प्रदर्शन गरेपछि एमाले र प्रसाई आमने सामने भएका थिए । तर, पछिल्लो समय ओलीको कट्टर आलोचक रहेका प्रसाईं जन्मघर पुगेर उसैगरी तस्वीर खिच्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।