काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार सबैले राष्ट्रिय सभा सदस्य निर्वाचन जित्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारमा संलग्न रहेका सबै दलले साझा उम्मेदवारलाई सहयोग रहेको बताउँदै चुनाव जित्नेमा कुनै शंका नरहेको बताएका हुन् ।
‘अहिले सरकारमा संलग्न भएका र सरकारलाई सहयोग गरेका राजनीतिक दलहरु एक ठाउँमा छौं । हामीले मिलेर १९ ठाउँमा उम्मेदवार खडा गरेका छौं । गठबन्धनसँग सुविधाजनक मत छ । त्यसो भएको हुनाले हामी १९ ठाउँमै चुनाव जित्छौं,’– उनले भने ।
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गराएका कृष्ण प्रसाद सिटौलालाई कांग्रेका सबै पक्षले साथ दिने उनको दाबी छ । उनले पार्टीको एकमत निर्णय भएरनै सिटौलालाई उम्मेदवार बनाइएको उनले बताए । कांग्रेका १० जनासहित गठबन्धनका १९ जनाले नै निर्वाचन जित्ने उनको दाबी छ ।
‘उहाँ (सिटौला) लाई एकदम साथ दिनुहुन्छ, विश्वास छ । यसमा सल्लाह भएको छ । कांग्रेसमा विभिन्न विषयमा मतान्तरहरु हुने गर्छन, विषयहरु उठ्ने गर्छन् । तर, सबै मिलेर पार्टीको एकमतले निर्णय भएको हो । त्यसो भएको हुनाले कांग्रेका १० जनासहित गठबन्धनका १९ जनाले नै निर्वाचन जित्नुहुन्छ,’– उनले भने ।