काठमाडौं,२७ पुस । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका लागि चौधरीकोमात्र उम्मेदवारी परेपछि उनी निर्वाचित भएका हुन् । रेशम हाल उक्त पार्टीमा संरक्षकको भूमिकामा रहेका छन् ।
अध्यक्षका लागि रेशमसँग हालकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको दाबी रहेको थियो । महाधिवेशनस्थलमा रहेका एक नेताका अनुसार अध्यक्षमा दाबी गरेपनि रञ्जिताले उम्मेदवारी भने दर्ता गरिनन् ।अध्यक्षमा रेशम चुनिएपनि महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले उम्मेदवारको सम्भावना बढेर गएको छ ।
चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन
रेशम २०७२ को भदौमा कैलालीको टीकापुरमा भएको घटनामा मुछिएर जेल गएपछि २ वर्षअघि रञ्जिताले आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेकी थिइन् । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । रेशम तीनै तहको अदालतबाट टीकापुर घटनामा दोषी ठहर भएपछि जन्मकैदको सजाय भोगिरहेको अवस्थामा गत जेठ १५ गतेको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर छुटेका थिए ।
राष्ट्रपतिबाट आममाफी पाएपछि रेशमले खुल्ला राजनीतिमा आफ्नो सक्रियता बढाउँदै लगेका छन् भने रञ्जिता संघीय सरकारकी मन्त्री हुन् ।
महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने बताइएको छ ।