Logo

नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारः उपप्रधानमन्त्री खड्का



काठमाडौँ, २८ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।

उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै उनले सेनाको योगदान र पेशागत दक्षताको उच्च प्रशंसा गर्दै सोका लागि सरकार र आफ्नो तर्फबाट पनि विशेष धन्यवाद दिएका हुन् ।

“सीमित स्रोत, साधन र सुविधाको बाबजुद नेपाली सेनाले अहोरात्र राष्ट्र र जनताको सेवामा समर्पित रही काम गर्दै आउनुभएको छ । आफ्नो कार्य सम्पादनका क्रममा नेपाली सेनाले भोग्नुपरेका समस्या तथा अप्ठ्याराहरूलाई नेपाल सरकारले महसुस गरेको छ”, रक्षामन्त्री खड्काले भने, “ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारले क्रमशः सम्बोधन हुनेछन ।”

उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा नेपाली सेनालाई तालिम इलाका, ब्यारेक तथा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रकृया अगाडि बढाइएको जानकारी गराए । राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रुपमा रहेको नेपाली सेनाले देशभित्र मात्रै नभइ विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा संयुक्त राष्ट्र सङ्घको झण्डामुनी रहेर शान्ति स्थापनामा विशेष योगदान दिएको भन्दै मन्त्री खड्काले नेपाली शान्ति सैनिकले विश्व शान्तिदूतका रुपमा खटिएर पूरा गर्दै आएको भूमिकाको अन्तर्राष्ट्रिय जगतबाट सधै उच्च प्रशंसा हुने गरेको बताए । यसबाट नेपालको राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय क्षेत्रमा थप योगदान पुगेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्