Logo

बालेनको व्यंग्य: एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार !



काठमाडौं,१ माघ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले मेलम्चि उद्घाटनबारे व्यंग्य गर्दै एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार भन्दै प्रश्न गरेका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची पाँचौपल्ट उद्घाटन गरेका थिए ।

उनले अहिलेसम्म एउटै आयोजनाको पाँच पटक उद्घाटन गरेको भन्दै तिथिमिति समेत राखेका छन् । प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्ट लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’

बालेनको स्टाटस उनकै शब्दमा

हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।

मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस्

१- २०७७ फागुन- तत्कालिन प्रम केपी ओली
२- २०७७ चैत्र – तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी
३- २०७९ वैशाख – तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी
४- २०७९ मंसिर- तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी
५- आज २०८० माघ १- प्रम पुष्पकमल दाहाल

अर्थात्, विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो । मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि। स। २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको दुई बर्ष पछि २०५७ सालमा आयोजनाको विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो । तर सुरूङ खन्न शुरू गर्न पनि ११ बर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ खन्न थालियो । त्यो ११ बर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरु नै फेरिएका थिए । मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तीको सूचि त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर काठमाडौँमा पहिलो पटक पानी झर्न त्यसको ९ बर्षपछि मात्रै सम्भव भयो ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले २०७७ फागुनमा मेलम्चीको पानी काठमाडौ झार्ने किर्तिमानका लागि उदघाटन त गरियो तर किर्तिमानकै लागि प्राविधिक पक्षलाई जोखिममा राखियो । जसको असर सोही बर्षमा नै देखियो । बाढीको लेदो पसेर तथा बाढीले लगायतका संरचनाहरु ध्वस्त पारेपछि मेलम्ची बन्द भयो । किर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउँने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौँ लगानीमात्र जोखिमपुर्ण बनाइएन, काठमाडौँबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो । र, देशव्यापीरूपमा नेपालमा केहि हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल गर्यो । अनि सँगसँगै, व्यक्तिगत किर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उदघाटन गर्ने कुप्रथाको सुरूवात भयो । त्यसकै सिलसिलाको नयाँ संस्करणको उदघाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो ।

बिडम्बना! अहिले पनि प्राबिधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौँ समय र अर्बौको लागत लाग्न सक्छ । बर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरु निर्माण भइसकेका नै छैनन् । यसैले बर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राइ सिधै पानी सुरूङमा लैजादा त्यसमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केहि समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ । यसका लागि नयाँ खोलाको माथितिर राम्ररी गरेर सार्न आवश्यक छ । त्यस्तै, लेदो थिगार्ने संरचना सुरूङ भित्रै बनाउन उचित हुन्छ ।

प्राविधिक जोखिमको आकलन र समाधान नगरि उचित प्राविधिक अध्ययनबिना राजनैतिककै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो । राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनस् समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिकलाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।

हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस् धन्यवाद , हाम्रो मन साच्चै नै जित्नु भयो भनेर ।



प्रतिक्रिया दिनुहोस्