काठमाडौं, २ माघ । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी सहज वितरणका लागि समस्या समाधान सहजीकरण समिति गठन गरेको छ । मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए/नभएको जानकारी गराउने, पानी वितरण क्रममा कुनै स्थानमा चुहावट भए सोको जानकारी लिने, पानी नआएको स्थानको जानकारी लिने, धमिलो पानी आएको लगायतका विभिन्न विषयहरूमा अनुगमन गर्ने उद्देश्यले सहजीकरण समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
नेपाल सरकार (मन्त्रिस्तर) को मिति २०८०।९।२८ को निर्णयानुसार मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय तथा काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधिहरू सम्मिलित समिति बनाइएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
समितिको संयोजक मेलम्ची खानेपानी विकास समितिका सि.डि.ई.पदम बहादुर कुँवर रहेका छन् । त्यसैगरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उप–प्रबन्धक उमेशबाबु मरहठ्ठा, सि.डि.ई. आयोजना कार्यान्वयन निर्देशनालयका विकेश बधानथ्याचे र के.यु.के.एलका का.प्र.दिपेश ढकाल उक्त समितिको सदस्य रहेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको मन्त्रालयले जनाएको छ ।
पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएता पनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुने भन्दै खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न समेत आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो माघ १ गते मेलम्ची खानेपानी पुनः वितरण कार्यको शुभराम्भ गरेका थिए । File Photo/RN