काठमाडौं,३ माघ । प्रदेश सरकारले स्वाभिमान दिवस मनाइरहँदा सरकारमा सामेल दल जनमतले कार्यक्रम बिथोल्ने प्रयास गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आक्रोश व्यक्त गरेका छन् ।
प्रदेश सरकारले आज प्रदेशको नामाकरण भएको दिनको सम्झनामा स्वाभिमान दिवस तथा सरकारको एक वर्षको कार्यप्रगति सार्वजनिक गर्न सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनमा कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम भइरहेकै बेला जनमत पार्टीका नेता कार्यकर्ताहरु प्रवेश गरी भ्रष्टाचार काण्डहरुको छानविन गर भन्दै प्रदर्शन गरेका छन् ।
प्रदेश सरकार गठन भएको ६ वर्ष पूरा भएको अवसरमा जनमत पार्टीका सचिव बीपी साहले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले ६ वर्षमा गरेका विभिन्न भ्रष्टाचारका घटनामा छानबिन गर्न माग गरेका थिए ।
साहले जसपा नेपालले ६ वर्ष सत्ताको नेतृत्व गरिरहँदा गरेका ६ वटा भ्रष्टाचारका घटनामा सत्यतथ्य छानबि गर्न माग गरेका थिए । साहले मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम, साइकल खरिद कार्यक्रम लगायताका कार्यक्रममा अर्बौको भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
जनमत पार्टीको अवरोध पछि आक्रोशीत बनेका मुख्यमन्त्री यादवले भ्रष्ट सरकारमा जनमत पार्टी किन बसेको भन्दै प्रतिप्रश्न गरेका छन् ।
‘ जनमत पार्टीले सरकार भ्रष्टाचार गरिरहेको आरोप लगाइरहेको छ । यदि त्यस्तो हो भने किन जनमत सरकारमा छ । सरकार छाडे भयो नी ! । भ्रष्ट सरकारमा किन बसेको ?,’ उनले भने ।