काठमाडौं,४ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म पनि छुट्टी नलिने ५ जना कर्मचारीलाई लिखित स्प्रष्टीकरण माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले पाँच जना प्रहरीलाई बिदा नलिनुको कारणबारे स्पष्टीकरण सोधेका हुन्।
प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई स्पष्टीकरण सोधिएको हो।
प्रहरी नियमावली २०७१ (संशोधन सहित) मा व्यवस्था भए बमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा जानु पर्ने भएता पनि बिदा गएको, कार्यालयको बिदा अभिलेखमा नदेखिएको हुँदा स्पष्टीकरण सोधिएको जिप्रका खोटाङले जनाएको छ ।
‘तत् सम्बन्धमा तपाईहरुलाई ६ महिना सम्म पनि कुनै किसिमको बिदा नजानु पर्ने कारण के हो ? तपाईहरुले प्रहरी नियमावली २०७१ (संशोधन सहित) मा व्यवस्था भए बमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा नलिनु पर्ने कारण के थियो ? तपाईहरुले नियमावली २०७१ (संशोधन सहित) मा व्यवस्था भए बमोजिम बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नु पर्छ भन्ने कुराको जानकारी छ वा छईन ? तपाईहरुले आफ्नो बिदा लिई आफ्नो स(साना समस्या समाधान गरी नागरिक प्रति प्रहरीका कारबाहीमा स्वच्छ मनसायले गर्नु पर्ने भएको कुराको जानकारी छ वा छैन ? तपाईहरुले आफ्नो घर परिवारको रेखदेख गर्ने तपाईको कर्तव्य भित्र पर्छ भन्ने कुराको जानकारी छ वा छईन ? तपाईहरुलाई यस कार्यालयको कार्यालय प्रमुख ज्यूबाट पटक पटक बिदा जानु भनि आदेश निर्देशन हुँदा हुँदै पनि आदेश निर्देशनको बर्खिलाप गर्नु पर्ने कारण के थियो ? तपाईहरु आफ्नो बिदा भुक्तान गरी सके पश्चात नागरिकहरुमा प्रहरीले दिनु पर्ने मुस्कान सहितको गुणस्तरीय सेवा सुविधा दिनु पर्नेमा तपाईहरु स्वयंम आफ्नो समस्या नदर्साई कुनै किसिमको बिदा नगई आफैमा उदासिनता भई बसेको देखिएको हुँदा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ’ जिप्रकाले जारी गरेको सूचनामा भनिएको छ ।
‘तपाईहरुले गरेको गल्तीको कसुरमा प्रहरी नियमावली २०७१ (संशोधन सहित) वमोजिम कारवाही किन नगर्ने ? यदी कारवाही गर्नु नपर्ने कुनै मनासिव ठोस आधार प्रमाण भए यो स्पष्टिकरण प्राप्त भएको २४ घण्टा भित्र सन्तोष जनक जवाफ लेखी पेश गर्नु होला, अन्यथा तपाई उपर प्रहरी नियमावली २०७१ (संशोधन सहित) वमोजिम कारवाही भई जाने व्यहोरा सुचित गराईन्छ’सूचनामा भनिएको छ ।