Logo

संसद्को आगामी अधिवेशनमा पहिलो पटकनै टिआरसी विधेयक ल्याउँछौंः कांग्रेस नेता विश्वकर्मा



काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दल र दलका नेताहरुको व्यक्तिगत इगोका कारण १७ वर्षसम्म टिआरसी विधेयक पारित हुन नसकेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टिआरसी विधेयक नटुङ्गिँदा लाखौं मानिस प्रभावित बनेका र हजारौं मानिस प्रत्यक्ष पीडामा परिरहेका बताए ।

राजनीतिक दलले परिवर्तनका लागि जनतालाई प्रयोग गरेपछि परिवर्तन पश्चात उनीहरुले न्याय पाउने कुराको सुनिश्चितता हुन आवश्यक रहेको उनले बताए । राजनीतिक दलहरु यसमा गम्भीर हुन आवश्यक रहेको समेत उनले बताए । उनले संसद्को आगामी अधिवेशनमा पहिलो विधेयक टिआरसी ल्याउने तयारी रहेको समेत बताए । टिआरसी विधेयकका बारेमा दलहरुबीच अनौपचारिक र मौखिक सहमति बनिसकेको उनको भनाइ छ ।

‘संविधान बन्यो तर टिआरसी विल बनेन । जसका कारणले लाखौं मानिसहरु प्रभावित भएका छन् । हजारौं मानिसहरु त्यसबाट प्रत्यक्ष पीडामा छन् । ती मानिसहरुलाई न्याय दिनका लागि राजनीतिक दलले परिवर्तनका लागि जनतालाई प्रयोग गरेपछि परिवर्तन पश्चात उनीहरुले पनि न्याय पाउने कुराको सुनिश्चितता टिआरसी विलले गर्छ ।’ उनले भने, ‘त्यो चाँडोभन्दा चाँडो ल्याउने कुरामा दलहरुका बीचमा मौखिक र अनौपचारिक सहमति भइसकेको छ । अबको सदनमा पहिलो पटकनै त्यही ल्याउने सहमति भएको मैले बुझेको छु ।’

नेता विश्वकर्माले नेकपा (एमाले) पनि यो परिस्थितिबाट भाग्न नपाउने बताए । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदानै ड्राफ्ट भएको विधेयक संसद्मा पेश गर्ने तयारी रहेको उनले बताए । आफू सरकारमा हुँदा ड्राफ्ट भएको विधेयकमा प्रयोग गरिएको शब्दलाई सत्ता बाहिर बस्दा घृणा गर्नुको औचित्य नरहेको उनले बताए ।

‘उहाँहरु पनि यो परिस्थितिबाट भाग्न पाउनु्हुन्न । किन भने भोलि उहाँ पनि सरकारमा जाने हो । उहाँहरु सरकारमा हुँदाखेरी नै जे ड्राफ्ट भएको छ, उहाँहरु सरकार बाहिर हुँदा पनि ड्राफ्ट त्यही छ ।’ उनले भने, ‘आफू सरकारमा हुँदा जे शब्द आफूले प्रयोग गरियो, बाहिर बस्दाखेरी त्यो शब्दसँग किन घृणा गर्नुपर्यो ?’

टिआरसी विधेकका सन्दर्भमा तीन दलका शीर्ष नेताहरु बीच समझदारी बनिसकेको उनले बताए । उनले १२ बुँदे समझदारीमा सहभागी दलहरुले यो विधेयकबाट भाग्न नहुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्