Logo

सत्तारुढ गठबन्धन संविधानको रक्षा र कार्यान्वयनका लागि आवश्यकता होः वर्षमान पुन



काठमाडौँ, ६ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच आज भएको अन्तरक्रियामा उनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गरे । र्नुभयो ।

“संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको वर्तमान गठबन्धन सरकार मुलुकको अहिलेको आवश्यकता हो । विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प छैन,”– उनले भने ।

वर्तमान सरकार कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई मुलुकको आवश्यकतानुसार बनेको उनको दाबी छ ।

पुनले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र सङ्घीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनवटै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा सातवटै प्रदेशको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको बताए । ठूलो जनसङ्ख्या भएको मधेस र बागमती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभामा बराबर आठ जनाको प्रतिनिधित्व हुने भन्दै त्यसले प्रदेशको स्वार्थको प्रतिनिधित्व गर्ने उल्लेख गरे । राष्ट्रियसभा सदस्य निर्वाचन यही माघ ११ हुँदैछ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्