Logo

देउवालाई सूर्यदर्शन सहकारी पीडितको प्रश्न: हामीले पोखराको बीच सडकमा आत्मदाह गर्नुपर्ने हो ?



काठमाडौं,९ माघ । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।

मंगलबार नेपाली कांग्रेस कास्की जिल्‍ला सम्मेलनमा उद्घाटन गर्न पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ लगायतले ज्ञापन पत्र बुझाएका हुन्।

सहकारी पीडितको समस्याको समाधानका लागि पहल गरिदिन उनीहरूले देउवासँग माग गरेका छन्। उनीहरुले देउवालाई ज्ञापनपत्र बुझाउँदै हामीले पोखराको बीच सडकमा आत्मदाह गर्नुपर्ने हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

पीडितले बुझाएको पत्रमा भनिएको छ,अब के यो समस्या समाधानका लागि पोखरेली जनताले पोखराको बीच बजारमा आत्मदाह गर्नुपर्ने हो, उपचारका लागि अस्पतालमा छटपटाइरहेका बिरामी काफी छैनन् र ?’

सहकारी ठगी प्रकरणमा सूर्यदर्शन सहकारीका १ सञ्चालक र एक पूर्व सञ्चालक पुर्पक्षका लागि थुनमा रहेका छन् । यीसहित १९ जनामाथि सूर्यदर्शनको पैसा हिनामिनाको आरोप छ । पूर्वअध्यक्ष जीबी राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, मनोज नकर्मी, हेमन्त अधिकारी, आइस्मा गुरुङ, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङलगायत १५ जना अझै फरार छन् ।



प्रतिक्रिया दिनुहोस्