Logo

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आजको आवश्यकता होः ज्ञानबहादुर शाही



काठमाडौं, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । विश्व हिन्दु महासंघद्वारा आयोजित नीलप्रसाद भण्डारीको वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले दलका नेता नभएर जनताबाट प्रत्यक्ष निर्वाचित तर निर्दलीय व्यवस्था आजको आवश्यकता रहेको बताएका हुन् ।

नेता शाहीले समानुपाति सांसदको व्यवस्था गर्दा अहिलेसम्म वडा अध्यक्षसमेत नजितेका प्रकाशशरण महत अर्थमन्त्री र जीवनमै जनतासँग गएर चुनाव नजितेका नारायणकाजी श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री बनेको टिप्पणी गरे ।

अहिलेको व्यवस्था र कानुन देख्दा आफूलाई पनि पार्टी अध्यक्षको विरोध गरे निकाल्छन् की भन्ने डर लाग्ने गरेको उनले बताए । उनलेृ संसद्मा समानुपातिक ११० सांसदले घुमफिर र मोजमस्ती गरिरहेको टिप्पणी गरे । देश विकास नहुनु र जनतामा निराशा छाउनुमा अहिलेको व्यवस्था नै दोषी रहेको उनको आरोप छ । यो व्यवस्था परिवर्तन नभएसम्म जनताको अवस्था परिवर्तन नहुने उनले दाबी गरे । देशमा दलीय व्यवस्था रहेसम्म विकास र समृद्धि सम्भव नरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्