काठमाडौं, ११माघ । नेकपा (माओवादी केन्द) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको पैसा हिनामिना गरेको आरोप लगाएका छन् ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रेडियो चलाएर, टेलिभिजन चलाएर नेता बनेका मान्छेहरुले करोडौं रुपैयाँ सहकारीबाट हिनामिना गरेका टिप्पणी गरे । साथै, लामिछानेले दोहोरो नागरिकता बनाउने, दोहोरो राहदानी बनाएको, सहकारी ठगीे, आत्महत्या दुरुत्सान लगायतका अपराध गरेर पनि ठूला कुरा गरेको विडारीले बताए ।
‘हामी १४ वर्षको उमेरदेखि राजनीति गरेर आउँदा त आज यस्तो छौं । रेडियो चलाएर, टेलिभिजन चलाएर नेता बनेका मान्छेहरु, जसले अहिले तपाईँ सुनिराख्नु भएको छ, करोडौं रुपैयाँ सहकारीका पैसा हिनामिना गरे । यस्तो त खातैखात छ, यो अपराधको खातैखात छ ।’ उनले भने, ‘खाने रवि लामिछाने, तिर्ने सरकार ? रवि लामिछानेको सम्पत्ति रोक्का राख्नुपर्यो । उनको नातेदार र परिवारको सम्पत्ति रोक्का राख्नुपर्यो । त्यो सम्पत्ति लिलाम गरेर जनतालाई पैसा तिर्नुपर्यो । राज्यको ढुकुटीबाट होईन ।’
सरकारले कानुन अभाव भए अध्यादेश ल्याएर भएपनि सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का राखी बढिबढाउमा लिलाम गरेर पीडितहरुको पैसा फिर्ता गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।