काठमाडौं, माघ १२ । मुलुककै सबै भन्दा पुरानो दल नेपाली कांग्रेसले आज आफ्नो ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष माघ १२ गते स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातवटै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसले बताएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम राखिएको छ ।
स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने छन् ।