काठमाडौं,१४ माघ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाका १९ सिटमा बिहीबार राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भयो । संविधानमा यसरी पदावधि सकिनु ३५ दिनअघिनै निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । कानुनको सोहि व्यवस्थालाई मध्यनजर गर्दै बिहीबार निर्वाचन भएको थियो ।
बिहीबार सम्पन्न निर्वाचनमा सत्ता साझेदार दलले गठबन्धन गर्दै उम्मेदवारी दिएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एकल उम्मेदवारी दिएको थियो । सातै प्रदेशमा प्रष्ट बहुमत रहेका सत्तारुढ दलहरु आफ्ना सबै उम्मेदवार विजयी हुनेमा निश्चित थिए । तर, सत्ता गठबन्धनलाई चक्मा दिँदै कोशी प्रदेशको महिला कोमा एमाले-राप्रपाको तालमेलबाट उम्मेदवारी दिएकी रुक्मिणी कोइराला अप्रत्याशीत ढंगले विजयी भईन् ।
एकाएक राजनीतिमा उलटफेर ल्याउँदै राष्ट्रिय सभामा कोइराला विजयी हुँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ चम्पा कार्की पराजित भईन् । सत्ता गठबन्धनको भारी बहुमत रहँदा रहँदैपनि आफ्ना उम्मेदवार पराजित भएपछि सत्ता गठबन्धमा ठूलै हलचल मच्चिएको छ । सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले कांग्रेससँगको सहकार्यबारे गम्भीर ढंगबाट समीक्षा गर्नुपर्ने बताउन थालिसकेको छ । नेपाली कांग्रेस भने मौन छ ।
माओवादीमा सत्ता सहकार्यबारे समीक्षा गर्न तीब्र दवाब हुँदा सत्ताकै अर्को साझेदार दल नेकपा (एकीकृत समाजवादी) मा पनि कुरा उठेको छ । आजबाट सुरु भएको पार्टीको केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले एमाले सत्ता गठबन्धन भत्काउन उद्दत रहेको आरोप लगाए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले कोशीमा भएको भोट क्रसबारे सत्ता गठबन्धनमा गम्भीर रुपमा समीक्षा हुनेपर्ने बताएका थिए । ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबिच भागबन्डा भएको थियो । तर, कोसीमा भोट क्रसिङ भयो र महिला क्लस्टरमा एमाले उम्मेदवार निर्वाचित हुन पुगे । यो घटना सबै दलका लागि छलफलको विषय हुन पुगेको छ,’– अध्यक्ष नेपालको भनाइ छ ।
कोशी विद्रोहले चेपुवामा माधव नेपाल
राष्ट्रिय सभा निर्वाचनमा भएको कोशी विद्रोहपछि राजनीतिले अर्को मोड लिने अनुमान भईरहँदा सबैभन्दा चेपुवामा भने एकीकृत समाजवादी परेको छ । अध्यक्षको हैसियतले नेपाललाई दवाव परेको छ । कांग्रेस संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइराला समूहले कोशीमा घात गरेको माओवादीको दाबी छ । स्रोतका अनुसार माओवादी उम्मेदवार हराउन कोशीका मुख्यमन्त्री केदार कार्की, नेता शेखर कोइराला र संघीय सांसद सुनिल शर्माले भूमिका खेलेका थिए । नेतात्रय कार्की, कोइराला र शर्माले नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर माओवादी उम्मेदवारलाई हराएको माओवादीमा चर्चा छ ।
त्यसो त माओवादीभित्र हालको सत्ता गठबन्धन फेरबद गरेर एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउनुपर्ने आवाज उठ्दै गएको छ । राष्ट्रपति निर्वाचनमा टुटेको एमाले र माओवादीबीचको गठबन्धन राष्ट्रिय सभा अध्यक्षको निर्वातनमा जोडिन सक्ने सम्भावना प्रवल रहेको स्रोतको दाबी छ । यदि एमाले–माओवादीको गठबन्धन बनेको खण्डमा त्यो गठबन्धनमा एकीकृत समाजवादी नरहने निश्चित छ । माओवादीसँग सहकार्य र एकताका लागि एमालेले एकीकृत समाजवादीलाई नसमेट्ने शर्त राखेको स्रोतको दाबी छ । एमाले-माओवादीबीच नयाँ शिराबाट सत्ता सहकार्य भएमा आफूहरु गठबन्धनबाट बाहिरिनुपर्ने चिन्तामा यतिबेला एकीकृत समाजवादीका अध्यक्ष नेपाल देखिएका छ्न्।
हालको सत्ता समीकरणमा भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री हुनेछन् । एकवर्ष नेपाल प्रधानमन्त्री बनेपछि अन्तिममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । तर, सत्ता साझेदार दलबीचको यो सहमति भत्काउन र माओवादीलाई आफ्नो कित्तामा उभ्याउन एमालेले निक्कै समयदेखि प्रयास गर्दै आएको छ ।
जसरी भएपनि सत्ता गठबन्धन भत्काउने रणनीतिमा रहेको एमाले कुनैपनि हालतमा माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने बरु आगामी २ वर्ष प्रधानमन्त्री प्रचण्डलाई नै बनाउने गरी अगाडि बढेको स्रोतको दाबी छ । माधव नेपाललाई सत्ता गठबन्धनबाट हटाउन माओवादी तयार भए एमाले प्रचण्डलाई अर्को २ वर्ष प्रधानमन्त्री स्वीकार्न तयार रहेको सिग्नल अोलीले बालुवाटारलाई दिएको उच्च स्रोतले दाबी गरेको छ ।
एकातिर सत्ता गठबन्धन टुट्ने र रहने दोधारमा रहँदा अर्कोतिर एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने आवाज बलियो बन्दै गएको छ । माधव नेपालले तत्कालीन नेकपाको एकता भंग भई पूर्ववत अवस्थामा एमाले फर्किएपछि अध्यक्ष ओलीको व्यवहार सहन नसकेपछि पार्टी फुटाएर एकीकृत समाजवादी गठन गरेका थिए ।
तत्कालीन अवस्थामा एमाले फुटाउन हौस्याउने नेताहरु झलनाथ खनाल, रामकुमारी झाँक्री, विजय पौडेल, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर लगायताका अधिकांश नेताहरु पुरानो कुरा भुलेर एमालेमै फर्किनुपर्ने पक्षमा खुल्दै गएका छन् । स्रोतका अनुसार सम्मानीत नेता खनाल र नेतृ झाँक्रीले त एमालेका नेताहरुसँग चरणवद्ध छलफलसमेत थालिसकेका छन् । एमालेनिकट स्रोतका अनुसार इलाम-२ मा हुने उपनिर्वाचनमा टिकट पाए पुरानो घर फर्किन आफू तयार रहेको सन्देश झलनाथले बालकोटमा पठाएका छ्न् । खनालको सन्देशबारे एमालेमा गम्भीर ढंगले छलफलसमेत भएको छ । खनाल र एमाले अध्यक्ष अोलीबीच पटक पटक फोन संवादसमेत भएको छ । ओली खनालबीच छिट्टै नयाँ शीराबाट सहमति हुने स्रोतको दाबी छ ।
नयाँ पार्टी गठन गरेपनि आम निर्वाचनमा लज्जास्पद हार भोगेको र राष्ट्रिय पार्टीसमेत बनाउन नसकेको, सदैव गठबन्धनको पिछलग्गु बनेको, एमालको भन्दा कुनैपनि फरक नीति, विधि र सिद्धान्त अवलम्बन गर्न नसकेको, कार्यकर्तालाई पार्टीमा जोगाउन नसकेको, कुनैपनि प्रष्ट मार्गदर्शन पहिल्याउन नसकेको आरोप खेप्दै आएका नेपालमाथि पछिल्लो समय सत्ता साझेदार दलले गर्ने व्यवहारबारे पनि प्रश्न उठ्दै आएको छ ।
सरकार बनाउन र टिकाउन आफ्नो दलले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै आएपनि सत्ता गठबन्धनले भने एकीकृत समाजवादीलाई त्यतिधेरै भाउ दिएको देखिँदैन । मन्त्रिपरिषद् विस्तारमा ४ मन्त्रालय दाबी गरेका नेपाललाई अन्तिममा २ मन्त्रालयमा खुम्च्याउन होस् वा राष्ट्रिय सभा निर्वाचनमा पाएको सिटले होस् पार्टीभित्र तीब्र असन्तुष्टि सिर्जना भएको छ । र त्यो असन्तुष्टि जुनसुकैबेला विष्फोट हुने खतरा बढ्दै गएको छ ।
तत्कालीन एमालेमा १४ वर्षसम्म पार्टी प्रमुख बनेर हालिमुहाली गरेका नेपालले ०७१ सालमा भएको नवौं महाधिवेशनपछिको ७ वर्षमै अध्यक्ष अोलीमाथि विभिन्न आरोप लगाएर पार्टी फुटाएको तर पार्टी फुटाएको औचित्य पुष्टि नहुँदै पार्टीलाई संकटमा धकेलेको भन्दै नेता तथा कार्यकर्ताले प्रश्नैप्रश्न तेस्र्याएका छन् । जसले गर्दा अध्यक्ष नेपाल स्वयं अप्ठ्यारोमा परेका छन् ।