काठमाडौं, १४ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दरबार हत्याकाण्डपछि तत्कालीन शासकहरुको कमजोरीका कारण अलिसमय ज्ञानेन्द्र राजा बनेको टिप्पणी गरेका छन् । राजाको जेठो छोरा राजा हुनुपर्नेमा जेठो, कान्छो छोरा र छोरीसमेत मारिएपछि तत्कालीन समयका शासकहरुले ज्ञानेन्द्रलाई राजा बनाएको भन्दै उनले ज्ञानेन्द्र वास्वविक राजा नभएर कुशको राजा भएको टिप्पणी गरे । बाहुनले चामलमाथि अर्को बाहुन भनेर कुशको बाहुन राखेजस्तै ज्ञानेन्द्र पनि कुशको राजा भएको उनको टिप्पणी छ ।
उनले दरबार हत्याकाण्डलाई तत्कालीन युवराज दिपेन्द्रको प्रेम कहानीसँग जोडेर मोड्ने काम भएको बताए । दिपेन्द्रले दरबार हत्यकाण्ड मच्चाएका थिए भनेर नेपाली जनताले पत्याउनु भ्रम हुने उनको भनाइ छ । हिजो पूर्वराजा ज्ञानेन्द्रले वीरगञ्जमा आयोजित एक सभालाई सम्बोधन गर्दै दरबार हत्याकाण्डमा आफू र आफ्नो परिवारलाई मुछ्न खोजेर अन्याय गरिएको र भ्रम फैलाइएको बताएका थिए । नारायणहिटीबाट नागार्जुन पुगेका पूर्वराजाले अहिले निकै सकृयता बढाइरहेको र दरबार हत्याकाण्डका बारेमा पनि अभिव्यक्ति दिन थालेपछि ओली आक्रामक देखिएका हुन् ।
‘दिपेन्द्रले आफैं मरेर मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडिबाट पनि उसैले गोली हान्छ, पछाडिबाट पनि उसैले गोली हान्छ । चारवटा राइफल एकैजनाले बोकेर कुद्छ ? यस्तो कुरा पनि पत्याएर हिँड्ने ?’ उनले प्रश्न गर्दै भने, ‘राजाको जेठो छोरा राजा हुन्छ । जेठो त के कान्छो र छोरी पनि मारिसकेपछि राजतन्त्र समाप्त भयो । त्यतिबेरको सरकारको कामजोरी हो अलिक समय राजतन्त्र भनेर ज्ञानेन्द्रलाई सजाउने काम भयो । ज्ञानेन्द्र राजा होईन, बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ । त्यस्तै यी कुशका राजा हुन् । यस्तो कुरामा के वहस गरिरहने बेकार ?’