Logo

विप्लव नेतृत्वको नेकपाविरुद्ध खनिए राप्रपासम्बद्ध भातृ संगठनहरु, लाञ्छना फिर्ता नलिए खरो रूपमा उत्रिने चेतावनी



काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आफ्नो विज्ञप्ति सच्याउन र पार्टी प्रवक्ता ज्ञानबहादुर शाहीमाथिको लान्छना फिर्ता लिन भनेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राप्रपासम्बद्ध भातृ संगठनहरुले विज्ञप्ती नसच्याए र प्रवक्ता शाहीमाथि लगाएको आरोप फिर्ता नलिए खरो रुपमा उत्रिने चेतावनी दिएका हुन् ।

राप्रपा प्रवक्ता शाहीले पार्टीको एक कार्यक्रममा सरकारको आलोचना गर्दै ‘पक्राउ पुर्जी जारी भएकाहरु प्रधानमन्त्रीसँग मिडिङ गर्दै हिँडेका छन’् भनेका थियो । शाहीको सोही अभिव्यक्तिको खण्डण गर्दै विप्लव नेतृत्वको नेकपाले अभिव्यक्ति सच्याउन र अभिव्यक्ति नसभ्याए गम्भीर परिणाम भोग्न तयार हुन भन्दै विज्ञप्ति जारी गरेको थियो । राप्रपासम्बद्ध भातृ संगठनहरुले विप्लव नेतृत्वको नेकपाको सो विज्ञप्तिमा आपत्ति जनाउँदै सच्याउन र लान्छना फिर्ता लिन भनेका हुन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कमलराजा बम रजवारले विज्ञप्तिको भत्र्सना गर्दै उक्त लान्छना फिर्ता लिनुपर्ने बताए । उनले आफ्नो पार्टी र प्रवक्ता शाहीमाथिको लान्छना फिर्ता नलिए नेकपाविरुद्ध खरो रुपमा उत्रिने पनि चेतावनी दिए ।

‘ज्ञानेन्द्र शाहीको अभिव्यक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले जुन विज्ञप्ति निकालेको छ, त्यसको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु । राप्रपा कानुनी राज्यको अवधारणालाई विश्वास गर्ने र विधिको शासनलाई विश्वास गर्ने पार्टी भएकाले हामी विधिको शासनको पक्षमा रहेका छौं ।’ उनले भने, ‘देशको राष्ट्रिय शक्तिका प्रवक्तालाई जुन किसिमको धाक, धम्की दिन खोजिएको छ । यसको विरुद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन खरो भएर उभिने कुरा म अवगत गराउन चाहन्छु ।’

राप्रपानिकट युवा संगठनका केन्द्रीय सचिव निराजन बमले पार्टी प्रवक्ता शाहीसँग नेत्र विक्रम चन्द मात्र नभएर सिंगो गणतन्त्र डराइरहेको टिप्पणी गरे । राप्रपा विप्लवको विज्ञप्तिदेखि नडराउने उनले चुनौती दिए । देश र जनताको हितमा बोल्दा आफ्ना पार्टीका प्रवक्तामाथि लान्छना लगाएर विज्ञप्ति निकालिएको भन्दै उनले नेकपालाई कमजोर पार्टीको संज्ञा दिए ।

‘तपाईँहरुले एउटा विज्ञप्ति निकालेर राष्ट्रिय प्रजातन्त्र पार्टी डराउँदैन । यो देशको राष्ट्रिय राजनीतिक उदयमान पार्टी हो । त्यो पार्टीका प्रवक्ताले देश र जनताको हितमा बोलिरहँदा आज एउटा पार्टीले नै विज्ञप्ति निकालेर सचेत रहनुस् भन्नु कति कमजोर मान्छे होला ? बन्दुक पड्काएर आएकाहरु किन डराएका होलान् ?’ उनले प्रश्न गरे ।

विज्ञप्तिमा भनिएको जस्तो कुनै घटना हुन गएको खण्डमा र आफूहरुले त्यस्ता कुनै गतिविधि थाहा पाएको अवस्थामा बन्दुक आफूहरुलाई पनि चलाउन आउने उनले चेतावनी दिए ।

राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष कैलाश कटुवालले प्रवक्ता शाहीले पक्राउ पुर्जी जारी भएको मान्छेले प्रधानमन्त्रीसँग मिटिङ गरिरहँदा पनि नदेख्ने अन्धो सरकारको आँखा खोलिदिएको बताए । पक्राउ गरेर कानुनी कारबाही गर्न नसक्ने भए किन पक्राउ पुर्जी जारी गरेको ? भन्दै उनले प्रश्नसमेत गरे । धाक, धम्की जनताले पत्याउन छोडेको भन्दै यस्ता अभिव्यक्ति नदिन उनले आग्रह गरे ।

‘यस्तो धाक, धम्कीहरु अब नदिनु होला । तपाईहरुलाई यो देशको जनताले पत्याउँदैनन्, पत्याउन छोडिसके,’– उनले भने ।
देशमा राजासहितको सनातन हिन्दु राष्ट्र पुनर्स्थापना गरिसकेपछि नेकपाजस्ता दलाल, तस्कर, भ्रष्टचारी र देशद्रोहीहरुलाई खोजीखोजी जेल कोच्नेसमेत उनले बताए ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका यातायात प्रमुख सानु पूर्वाछानेले वर्तमान सरकारको आलोचना गर्दै यातायात क्षेत्रमा रहेका विकृतिबारे जानकारी गराए ।

ज्ञानेन्द्रलाई प्रकाण्डको चेतावनी, ‘अभिव्यक्ति सच्याऊ, नत्र गम्भीर परिणाम भोग्न तयार होऊ’



प्रतिक्रिया दिनुहोस्