Logo

बीमापोष्टका सम्पादक नबराज न्यौपाने सम्मानित



काठमाडौं, १७ माघ । जनआन्दोलन २०६२/०६३ मा प्रहरी गोलीबाट शहादत भएका मकवानपुरका सहिद बासु घिमिरेको नाममा स्थापित पुरस्कारबाट बीमापोष्टका सम्पादक नवराज न्यौपाने र बरिष्ठ पत्रकार नवराज शर्मा तिमिल्सिना सम्मानित भएका छन् ।

रिपोर्टर्स क्लव नेपाल, मकवानपुर शाखाले आज माघ १६ गते सहिद दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बागमति प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल र बागमति प्रदेशकै आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जनही आठ हजार ८८८ रुपैयाँको पुरस्कार प्रदान गरिएको हो ।

रिपोर्टर्स क्लवका केन्द्रीय सभापति ऋषि धमलाको उपस्थितिमा रिपोर्टर्स क्लव नेपाल मकवानपुर शाखाका अध्यक्ष बलराम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहिद बासु घिमिरेका बुवा कृष्ण प्रसाद घिमिरेलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि शालिकराम जम्कट्टेलले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि बागमति प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै सञ्चार माध्यमहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सहयोग गर्ने बताए ।

मुख्यमन्त्री जम्कट्टेलले बागमति प्रदेश सरकार अहिले नीति र पद्धति बनाउन लागि परेको बताउँदै आगामी दिनमा आर्थिक विकासमा क्रान्ति हुने दावी गरे ।

मुख्यमन्त्री जम्कट्टेलले पुरस्कृत पत्रकारहरुले परिवर्तनको पक्षमा अहम् भूमिका खेलेको बताउँदै आगामी दिनमा अझै गहिरो जिम्मेवारी बहन गर्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्रको मुख्य आधारस्तम्भ नै प्रेस भएकोले बागमति प्रदेश सरकार सञ्चार जगतका अप्ठेरोहरु हटाउन प्रतिबद्ध भएर लागि परेको बताए । मन्त्री श्रेष्ठले बागमति प्रदेशमा रहेका सबै सञ्चार क्षेत्रलाई समष्तिगत रुपमा आत्मसम्मानका साथ विभिन्न अवसर जुटाउन प्रदेश सरकारले नीतिगत कार्यक्रम र बजेट तर्जुमा गरेको बताउँदै पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रियता र प्रजातन्त्रको सम्र्बद्धनमा एकजुट हुन आह्वान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै रिपोर्टर्स क्लब नेपाल केन्द्रीय अध्यक्ष ऋषि धमलाले पत्रकारहरुलाई सकारात्मक समाचार लेखेर सरकारलाई सहयोग गर्नुपर्ने बताए । अध्यक्ष धमलाले सरकारलाई खवरदारी गर्ने र प्रोत्साहन गर्ने दुवै काम पत्रकारहरुको भएको बताउँदै सरकारले गर्नुकामहरुको बारेमा समाचार लेख्न आह्वान गरे ।

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि बागमति प्रदेशले नमुना कार्य गरिरहेको बताए । कार्यक्रममा नेपाल पत्रकार बागमतीका संस्थापक अध्यक्ष प्रताव विष्टले पत्रकारिताको माध्यमबाट पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै पुरस्कारको निरञ्नरताको पाउनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् रिपोर्टर्स क्लव मकवानपुरका पूर्व अध्यक्ष सविन न्यौपाने मन्तव्य व्यक्त गरेका थिए ।

पुरस्कृत सम्पादक न्यौपानेले प्राप्त गरेको पुरस्कार रकम सहिद पिता बासुदेव घिमिरेका बुवा कृष्ण प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्