काठमाडौं, १८ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफूलाई कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको कारण मानव अधिकारको गम्भीर उल्लंघनकर्ताको सूचीमा राखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगलाई प्रश्न गरेका छन् ।
आयोगले मानव अधिकारको गम्भीर उल्लंघनकर्ताको सूचीमा आफ्नो नाम समावेश गरेपछि साहले आफ्नो तर्फबाट आज (बिहीबार) एक वक्तव्य जारी गर्दै घट्नाको सत्य, तथ्य सार्वजनिक गर्न चूनौति दिएका हुन् ।
‘मलाई मानव अधिकार उल्लंघनको दोषी देखाउने मानव अधिकार आयोगलाई चूनौति दिन चाहन्छु–मैले कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको छु ? घट्नाको सत्य, तथ्य सार्वजनिक गर । यसरी मेरो चरित्र हत्या गर्ने र जनतालाई गुमराहमा राख्नु र बिनाआधार कसैको चरित्र हत्या गर्नु आँफैंमा मावनअधिकारको उल्लंघन हो ’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।
मानव अधिकारजस्तो सम्मानित संस्थाको पदमा बसेर पूर्वाग्रह साँध्ने, कुण्ठा पोख्ने र जनतालाई भ्रमित पार्ने कार्य आँफैंमा आपराधिक कार्य भएको साहको टिप्पणी छ । उनले थप भनेका छन्–‘यस कार्यमा संलग्न आयोगका पदाधिकारीहरुले आफ्नो कमजोरी तत्काल नसच्याए आयोगउपर कानूनी लडाईं लड्न बाध्य हुने चेतावनी दिन चाहन्छु ।’
राष्ट्रिय मानव अधिकार आयोगले केहि दिनअिघ आयोगमा परेको उजूरी कारवाही सम्बन्धी निर्देशिका २०६९ को बुँदा नं ४० (क) को व्यवस्था बमोजिम आयोगले आव २०८०/०८१ देखि हरेक ६ महिनामा मानव अधिकार उल्लंघन दुरुत्साहनमा दर्ता हुन आएका उजूरी, उजूरीमाथि भएका छानविन तथा अनुसन्धान र अनुसन्धान पश्चात् आयोगबाट भएका निर्णयहरू सार्वजनिक गर्नेक्रममा मानव अधिकारको गम्भीर उल्लंघनकर्ताहरुको सूची सार्वजनिक गरेको थियो । जसमा तत्कालीन माओवादी नेताको रुपमा उनको नाम सार्वजनिक भएको थियो ।