काठमाडौं,२२ माघ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीलाई सैद्धान्तिक धरातल नभएको पार्टीको रुपमा चित्रण गरेका छन् ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकमा आफ्नो राजनीतिक दस्तावेज पेश गर्दै राउतले नेकपा एसलाई नेकपा एमालेबाट कुनै सैद्धान्तिक धरातलभन्दा पनि व्यक्तिगत अहंकारका कारण छुट्टिएर बनेको पार्टीको रुपमा उल्लेख गरेका छन् ।
‘नेकपा एकीकृत समाजवादीले झन् आफ्नो नाममै समाजवादी राखेको छ । २०७९ माघ २१(२२ गते प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन यो कुनै नेपालको दलको प्रतिवेदन कम र चिनियाँ राजनैतिक दलको प्रतिवेदन ज्यादा देखिन्छ किनकि चीन कताबाट घेरिँदै छ, चीनको विरोधमा कता मोर्चाबन्दी हुँदैछ भन्ने कुरामा सो दलले बढी सरोकार राखेको देखिन्छ’ राउतले भनेका छन् ‘नेपालमा कहाँ के भइराखेको छ भन्दा विश्वमा कहाँ वामपन्थीहरूको उदय भयो, कहाँ वामपन्थी दलहरूले राम्रो गर्दैछ भन्ने कुरामा सो दलले बढी खुशी मनाएको देखिन्छ’ ।
राष्ट्रिय होइन,अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कनबाट शुरूवात् भएर साम्राज्यवाद प्रभुत्ववाद र एकाधिकार एवं वित्तिय पूँजीवादर्का विरूद्धमा सो दल उभिएको राउतको दाबी छ ।