Logo

आठ वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, माघ २३ । आज आठ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो ।

अहिले बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० (मस्यौदा माथि) पेस तथा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आ।व २०७९–८० को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, राष्ट्रिय सभा अन्तर्गतको समितिहरूमा बिहान ११ बजे दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा स्थानीय तहको कानुन निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
.
बिहान १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोर्हौ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्