Logo

‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री थापाको संवादयात्रा स्थगित



काठमाडौं,२३ माघ । नेपाली कांग्रेसको जारी ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगनकुमार थापाको संवाद यात्रा स्थगित भएको छ ।

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो ।

संवादयात्राको क्रममा नवलपरासीको प्रतापपुर प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा पुगेका थापाले आज बिहान आयोजित कार्यक्रममा सो जानकारी गराएका हुन् ।

फागुन ७, ८ र ९ गते हुने महासमितिको बैठकलगत्तै समुदायमा कांग्रेस अभियान र संवाद यात्रा सुरु गर्ने थापाले बताए । महामन्त्री थापाले माघ १३ गतेदेखि झापाबाट संवाद यात्रा सुरु गरेका थिए ।

बुढाथोकीको निधन भएपछि कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठकले बुढाथोकीको निधनमा शोक प्रकट गर्दै एक दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने परम्पराअनुसार निर्णय गर्ने थापाले बताए ।

पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्