Logo

पूर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने



काठमाडौं,२३ माघ । नेपाली कांग्रेसले पूर्व सामान्य प्रशासनमन्त्री तथा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज बिहान पार्टी मूख्यालय सानेपामा बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव गरेको छ ।

नेता बुढाथोकीको निधनप्रति सम्मान व्यक्त गर्दै माघ २३, २४ र २५ गते (तीन दिन) सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने कांग्रेसले जनाएको छ ।

त्यस्तै माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा माघ २२ गते निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्