काठमाडौं,२३ माघ । नेपाली कांग्रेसको एक समूहले नेपाललाई हिन्दू राज्य बनाउन माग गर्दै महाअभियान पुनर्गठन गरेको छ । यसअघि पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेको नेतृत्वमा रहेको समितिलाई हालै पूर्व मन्त्री तथा सांसद शंकर भण्डारीको नेतृत्वमा पुनर्गठन गरिएको हो ।
पुनर्गठित महाअभियानले पार्टीको आसन्न महासमिति बैठकमा हिन्दूराष्ट्रको मुद्दालाई उठाउने निर्णय गरेको छ । महाअभियानको बैठक पुन बसेर महासमितिमा मुद्दालाई प्रस्तुत गर्ने विषयमा छलफल हुने समितिले जनाएको छ ।
उक्त बैठकमा पूर्व मन्त्री चिरञ्जीवी वाग्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, पूर्व सभामुख दमननाथ ढुङ्गाना, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूणकुमार सुवेदी, कांग्रेसका नेता एवम् पूर्व मन्त्री चिरञ्जिवी वाग्ले, परराष्ट्र मन्त्री एनपी साउदकी पत्नी जोत्सना साउद लगायत उपस्थित रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“२०६२ साल मंसिर ७ गतेको १२ बुँदे सहमति र २०६२÷६३ को १९ दिने आन्दोलनको समयमासमेत सनातन हिन्दूराष्ट्रविरुद्ध कुनै माग वा आग्रह प्रकट वा अप्रकटरुपमा भएको थिएन,” विज्ञप्तिमा उल्लेख छ, “नेपाली कांग्रेसजस्तो व्यापक जन आधारमूलक तथा प्रजातान्त्रिक पार्टीले ९४ प्रतिशतभन्दा बढी जनताको आस्था, विश्वास र भावनालाई उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरु, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी आकस्मिक अदूरदर्शी, अविवेकी र अपारदर्शी ढंगले धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएकाले त्यसलाई सच्याएर नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्ने संवैधानिक व्यवस्था गर्न नेपाली कांग्रेसले अविलम्ब पहल गर्नुपर्ने अनिवार्य आवश्यकताप्रति पार्टीको गम्भीर ध्यान आकृष्ट गर्न चाहन्छौँ ।”
संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगानाकोको सल्लाह र सुझावको आधारमा भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापनाका महाअभियान घोषणा भएको हो। यसअघि ३ वर्ष अघिको महासमिति बैठकमा पनि भण्डारीले प्रस्ताव पेश गरेका थिए ।
कांग्रेसको केन्द्रीय तहमा हिन्दूराष्ट्रका पक्षमा खुलेर बोल्ने नेता कम भए पनि तल्लो तहमा भने संख्या ठूलो छ । पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत नेता पनि हिन्दू राष्ट्रका पक्षमा खुल्न थालेका छन् । महाधिवेशनमा हिन्दूराष्ट्रको मुद्दा उठे त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा कांग्रेसमा छलफल भने भएको छैन । कतिपय नेताले महाधिवेशनअघि नै हिन्दूराष्ट्रका बारेमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।