काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने प्रवृत्ति एकदमै खराब रहेको बताएका छन् । आज (मंगलबार) राष्ट्रिय सभागृहमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले गठबन्धन गरेर निर्वाचनमा सहभागी भएको कांग्रेस र माओवादीले सत्तामा रहेर पनि केही गर्न नसक्ने टिप्पणी गरे । अहिले देशको शासन प्रणाली बिग्रिँदा सबै क्षेत्रमा त्यसको असर देखिएको उनको दाबी छ । कांग्रेसले गठबन्धन गरेर निर्वाचनमा सहभागी भएकै कारण समानुपतिकमा ४० सिटबाट ३२ सिटमा झरेको उनले दाबी गरे ।
‘तपाईँहरुले भन्नुहोला पार्टीले काम नदिएपछि त हामीभन्दा पनि चर्को कुरा गर्न थाल्यो भन्नुहोला । अहिले पनि पार्टीभित्र केही जोखिमहरु मेरा छन् । ती जोखिमहरु उठाउन तयार भएर भनेको हुँ । बिग्रेको किन त भन्दा शासन बिग्रेको हो नि त । अरु चिज त बिग्रेको होईन । अब हाम्रो बिम्बमै भन्ने हो भने, मलाई गठबन्धनको बारेमा झगडा त गर्नुछैन । जय नेपाल भनेको लाल सलाम हो, लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौं । त्यो भन्दा खराब के होला ? ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो । मिनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो (उक्त कार्यक्रममाओनसरी घती र घनश्याम भुसाल पनि सहभागी थिए) भनेर चुनाव जितेर बनेको गठबन्धन,’– उनले भने ।
नागरिक समाजसँग यसअघि आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बेला अन्तर्क्रिया गरेको स्मरण गराउँदै उनले अहिले पार्टीमा खास्सै जिम्मेवारीमा नभएको बेला अन्तिरक्रियामा बेलाउँदा भेट हुने वातावरण बनेको बताए । ‘मलाई पनि अहिले सहज किन छ भन्दा मेरो खास्सै काम छैन पार्टीमा । बढी पो काम गरिहाल्छ कि भनेर पार्टीले विदामा राखेको हुनाले मलाई पनि सजिलै भयो,’– उनले भने ।
वर्तमान सत्तारुढ गठबन्धनबीच पाँच वर्ष सत्ता सहकार्यको सहमती भएको स्मरण गराउँदै उनले सरकारका आगामी दिनहरु एमालेले झुक्याउन, फकाउन र लोभ्याउन नसकेमा प्रधानमन्त्री र मन्त्री फेरबदलमै बित्ने टिप्पणी गरे ।
‘अब हामीले पाँच वर्षका लागि सम्झौता गरेका छौं । पृथ्वीसुब्बा गुरुङ (एमालेको तर्फबाट कार्यक्रममा सहभागी) ले झुक्याउन सक्नु भएन, फकाउन सक्नुभएन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेकोफेर्यै गर्छौं । बाँकी काम गर्न परेन,’– उनले भने । Photo by: Mukunda Kalikote/RN