कर्णाली, २६ माघ । ‘धर्तीमा छ सबै चीज खोजे मिल्छ घरघरी, तर जन्मदिने आमा बाबा पाइँदैन कसैगरी’ भन्ने मूलभावका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मानवता प्रवद्र्धन महाअभियानअन्तर्गत ‘आमा सेमिनार’ हुने भएको छ ।
मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतले आज पत्रकार भेटघाट कार्यक्रमको अयोजना गरी भोलि वीरेन्द्रनगर सुर्खेतमा मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र मातापिताको महत्व बोध गराई प्रेम, सद्भाव र करुणालाई जनजनमा र मनमनमा पु¥याउने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको जानकारी गराएको छ ।
आगामी विसं २०८२ सम्म सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पूरा गर्ने आधार तयार गर्न सुर्खेतलगायतका नेपालका ४५ स्थानमा राष्ट्रव्यापी रुपमा मानवता प्रवद्र्धनका लागि सेमिनार आयोजना गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतका संयोजक सञ्जीता गौतमले जानकारी दिए ।
“भोलि आयोजना हुने ‘आमा सेमिनार’मा पाँच सय व्यक्तिको सहभागिता हुनेछ जसको व्यवस्थापन मानव अध्ययन केन्द्रले गर्नेछ”, उनले भने, “सेमिनारमा यहाँका सबै जनप्रतिनिधि, सहयोगी दाता, आमा समुह, टोल विकास समिति, युवा समूह वा क्लब, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक, अध्यात्मिक तथा गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि, महिला स्वयंसेविका र सञ्चारकर्मी सहभागी रहनेछन् ।”
मानव सेवा आश्रमले जनजनमा सकरात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशील र आत्मनिर्भर व्यक्ति एवं समाज बनाउने ध्येयले काम गर्दै आएको बताउँदै प्रमुख गौतमले सेमिनारमा देश विदेशमा ख्याति प्राप्त मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रशिक्षण दिने जनाए । रासस