काठमाडौं, २९ माघ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ । हिजोदेखि सुरु भएको बैठकमा हालै सम्पन्न भएको पार्टीको अभियानबारे समिक्षा पनि भएको छ । अध्यक्ष पुष्पकमल दाहालले भने केन्द्रीय सदस्यहरुबाट उठेका प्रश्नको जवाफ दिने पनि कार्यक्रम छ ।
माओवादीको भोलिदेखि विधान अधिवेशन सुरु हुँदैछ । अभियानमा पार्टीमा नयाँ उत्साह थपिएको नेताहरुको ब्रिफिङ छ । पार्टीको नेतृत्व तहमा रहेका नेताहरुले त पार्टी अब बन्ने दाबी गरेका छन् । उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्माले त पार्टीमा आकर्षण सुरु भएको भन्दै यसलाई निरन्तरता दिन सकिए आगामी निर्वाचनमा पार्टीले ठूलो सफलता हात पार्ने दाबी गरेका छन् ।
उपत्यका विशेष प्रदेशका इन्चार्ज समेत रहेका उपमहासचिव वर्षमान पुनले माओवादीप्रति अहिले जनताको भरोसा बढेको सुनाए । उनले पार्टीका नेता तथा कार्यकर्तामा पनि जनयुद्धकालिन केन्द्रीकृत योजना र विकेन्द्रीत परिचालनको मनोविज्ञान रहेको धारणा राखेका थिए । पुनले पार्टीलाई चलायमान बनाउनको लागि केन्द्रबाट कार्यक्रम बनाएर लैजानुपर्ने आवश्यकत्ता औंल्याए । यसरी केन्द्रबाट कार्यक्रम र योजना बनाएर जाँदा नेता तथा कार्यकर्ताहरुलाई खटिनको लागि समस्या नहुने कुरा यसपटक अभियानले पनि पुष्टि गरेको उनको भनाई थियो ।
पार्टी विभाजनपछि कमजोर भएका पार्टी पुनः उही अवस्थामा आउनको लागि समय लाग्ने कुरा एमाले र कांग्रेसलाई लागेको समयबाट पनि पुष्टि भएको उनको भनाई थियो । अब माओवादीलाई पनि पूरानै अवस्थामा फर्काउन सकिने उनको भनाई थियो । उनले माओवादीप्रति अहिलेपनि सहरमा क्रेज बढाउन नसकिएको स्विकारेका छन् । तर, गाउँ गाउँमा भने माओवादीप्रति जनताको भरोस बढेको उनको जिकिर छ । ०८४ को आम निर्वाचनमा माओवादी ०६४ कै हाराहारीमा पुग्ने नेताहरुको दाबी छ । नेताहरुबाट यस्तो ब्रिफिङ सुनेका प्रचण्ड भने मख्ख परेको नेताहरुको भनाई छ । file photo