Logo

प्रधानमन्त्री प्रचण्डको गृहजिल्लामा पुगेर गगन थापाले भने–सरकारप्रति गुनासो बढ्यो



चितवन, २ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज (.बुधबार) यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताएका हुन् । उनले भने,“सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।”

आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको उनले बताए । महामन्त्री थापाले थपे,“जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।” स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उनले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको सुनाए ।

पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको उनको भनाइ थियो । उनले भने,“पूर्वाधार बनेको तर समयमा पूरा गर्न नसक्दा सिङ्गो नेपालभरिको ठेक्का प्रणालीको समस्या हुलाकी राजर्मामा देखियो । यस कारणले गर्दा लगानी भएपनि लाभ लिन नसकेको देखिन्छ ।”

देशभरका महासमिति सदस्य केही अनुभव वोकेर काठमाडौँ आउँदा महासमितिको बैठकमा यी बिषयमा छलफल हुने महामन्त्री थापाले बताए । निर्वाचन पछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे ।

उनले भने,“त्यो आफँैमा गलत, संविधानको, लोकतन्त्रको भावनाविपरीत र सिङ्गो प्रणालीलाई विकृत वनायो ।” निर्वाचनपछि गठवन्धन वन्न सक्ने भन्दै उनले थपे,“कुनै पनि दलले बहुमत ल्याएन भने निर्वाचनपछि गठवन्धन वन्छ । निर्वाचनपछिको गठवन्धनमा पनि त्यसको निम्ति चाहिने संस्कृतिको हामीमा अभाव छ ।” file photo



प्रतिक्रिया दिनुहोस्