काठमाडौं, फागुन ३ । तीन दिनदेखि राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशन आज सकिँदैछ। विधानको मस्यौदामाथि निष्कर्ष सुनाउन तयार पारिएका २० वटा समूह मध्ये बुधबारसम्म १३ वटा समूहको निष्कर्ष सकिएको छ। बाँकी ७ समूहको आज निष्कर्ष राखिनेछ। काठमाडौंको प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने अधिवेशनमा समूहगत छलफलका निष्कर्ष पेस गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।
अधिवेशनमा सहभागीहरुले माओवादीका नेता तथा कार्यकर्ताहरुले पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने, माथिदेखि तल्लो तहसम्म कार्यकाल तोकिनुपर्ने, केन्द्रदेखि तल्लो तहसम्मै प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्नुपर्ने, महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने, शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने, पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने विषयहरु उठाएका छन्।