काठमाडौं, फागुन ४ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अहिले बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक अध्ययन उपसमितिले सम्बन्धित मन्त्रालय, सरोकारवाला, विज्ञ एवं संशोधनकर्ता सदस्यसँग छलफल गरी तयार गरेको प्रतिवेदन समितिमा छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।
यसैगरि ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा अपाङ्गता भएका व्यक्तिहरुको कार्यान्वयन सम्बन्धी विषयमा राष्ट्रिय सभाबाट स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि एकीकृत कार्यान्वयन योजना सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको मस्यौदामाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।