काठमाडौं,६ फागुन । नेपाली कांग्रेसका सांसद दीपक खड्काले नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले आफ्नो चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खड्काले नेपाल स्काउट र खड्काल्याण्ड कम्पनीबिच २०६३ सालमा विधिवत रुपमा टेन्डरमार्फत स्काउटमा भवनहरु भाडामा लिएको र १० वर्षपछि पुनः टेन्डरमार्फत प्रक्रिया पूरा गरेर त्यहाँका भवन भाडामा लिइएको बताएका छन् ।
स्काउटका ५ वटा संरचनामा व्यवसाय गरेकालाई हटाएर भण्डारीले स्काउटमा मनोमानी गरिरहेको बताए । स्काउटको निर्वाचन गराउन ६ महिनाका लागि गएका भण्डारी साढे ५ बर्षसम्म बसेर स्काउटको सम्पत्ति दोहनमा लागिरहेको उल्लेख गरेका छन् ।
नेपाल स्काउटको नाममा रहेको जग्गा कांग्रेस सांसद खड्काले हडपेको भन्दै स्काउट र खड्काबीच आरोपप्रत्यारोप चल्ने गरेको छ । खड्काले भने आफ्नो बचाउ गर्दै आएका छन् ।