काठमाडौं,६ फागुन । नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिन्दूराष्ट्रको मुद्दा आगामी महासमिति बैठकमा एजेण्डा नबन्ने प्रष्ट पारेका छन् ।
भोलिबाट सुरु हुने महासमितिको बैठकका पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्नै नेता विश्वकर्माले सभापति शेरबहाखुर देउवाले कुनैपनि चासो नदेखाएको विषय भएकाले हिन्दूराष्ट्रको मुद्दाले महासमितिमा प्रवेश नपाउने प्रष्ट पारेका हुन् ।
‘हाम्रो पार्टी जातीय पार्टी होइन, क्षेत्रीय पार्टी होइन, धार्मिक, साम्प्रदायीक पार्टी होइन । राष्ट्रिय पार्टीमा यी सबै आकांक्षाहरु समेट्नुपर्ने हुन्छ,’ विश्वकर्माले भने, ‘केन्द्रीय समितिमा बोल्नु भएको छ । महासमिति बैठकमा पनि बोल्नुहुन्छ । बोल्न त पाउनु प¥यो नि । विचार व्यक्त हुनसक्छन । आधिकारिता पाउँदैनन् ।’
कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रको मुद्दा बलियो बन्दै गएको छ । सांसदसमेत रहेका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा कांग्रेसका क्रियाशील नेताहरुले हिन्दू राष्ट्र बनाउन महाअभियानको घोषणा गरेका छन् । जसलाई पूर्वमन्त्रीदेखि बाहलवालामन्त्रीका पत्नीले समेत साथ दिएका छन् ।
शुक्रबार मात्र कांग्रेसका २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठकमा पुरक प्रस्ताव दर्ता गर्दै सभापति देउवालाई हस्ताक्षरसमेत बुझाएका थिए । पछिल्लो समय सभापति देउवाको मौनताका कारण एकपछि अर्को नेताहरु हिन्दू राष्ट्रको पक्षमा खुल्दै गएका छन् । यद्यपि पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासहितका युवा नेताले भने धर्मनिरपेक्षताकै बारेमा आफूलाई दृढ राख्दै आएका छन् ।