Logo

वीरगञ्जमा सद्भाव खलबल्याउन खोज्ने तत्वलाई पराजित गर्न आवश्यक छ : प्रदीप यादव



काठमाडौं, ७ फागुन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री प्रदीप यादवले वीरगञ्जको सयौं वर्षदेखि कायम रहँदै आएको धार्मिक सहिष्णुता र सद्भाव खलबल्याउने तत्वलाई पराजित गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । यादवले वीरगञ्ज आँफैमा परिवर्तनको राप र ताप बोकेको भूमि भएको उल्लेख गर्दै यसको निभ र शक्ति वीरगञ्जको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भाइचारा भएको पनि बताएका छन् ।

सामाजिक सञ्जालमार्फत यादवले वीरगञ्जमा आज भएको घट्नाको विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि जानकारी गराएको स्पष्ट पारेका छन् । उनले उक्त घट्नाको छानबिन गर्दै दोषी जो कोही भएपनि पहिचान गरेर कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । र, समाजको सद्भावलाई कायम राख्नपनि उनको अपिल छ ।

यादवको धारणा यस्तो छ :

ऐतिहासिक नगरी वीरगञ्ज परिवर्तनको भूमि हो । देशमा भएका सम्पूर्ण परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्ने वीरगञ्जको निभ र शक्ति यहाँको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भाइचारा हो । यहाँको विकास निर्माणमा सबै समुदाय र धर्मका व्यक्तिहरूको समान लगानी छ, मिहिनेत छ र परिश्रम छ ।

यद्यपि पछिल्लो समय वीरगंज वाहिर बाट आएका केही असामाजिक तत्त्वहरूले वीरगञ्जको यस निभ र शक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । सयौँ वर्षदेखिको धार्मिक सहिष्णुतालाई बिगार्ने प्रयास गरिरहेका छन् । द्वन्द्व फैलाएर हामीहरूबिचको सद्भावलाई खलबल्याउने प्रयास गरिरहेका छन् । यस्ता तत्त्वहरूलाई रोक्दै पराजित गर्न आवश्यक छ । जसको लागि हामी एक ढिक्का भएर अगाडि आउन बढ्नुपर्छ ।

आज म सम्पूर्ण वीरगञ्जवासीसँग आग्रह गर्न चाहन्छु । हामी सबै एक हौँ, हामी हिजो पनि मिलेर बसेका थियौँ, आज पनि मिलेकै छौँ र भविष्यमा पनि सँगै नै बस्ने छौँ । वीरगञ्जमा आज भएको घटनाको विषयलाई सम्माननीय प्रधानमन्त्रीज्यु र गृह मन्त्रीज्युलाई समेत जानकारी गराएको छु साथै यो घटनाको छानबिन गर्दै दोषी जो कोहीलाई पनि पहिचान गर्दै कारबाही गर्न र हाम्रो समाजको सद्भावलाई कायम राख्न म स्थानीय प्रशासन र सरकारसँग जोरदार माग गर्दछु ।



प्रतिक्रिया दिनुहोस्