Logo

वीरगन्जमा चार घण्टाका लागि कर्फ्यु स्थगित, सर्वपक्षीय बैठक बस्दै



काठमाडौं, फागुन ८ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा जारी कर्फ्युलाई आज बिहान ४ घण्टाकालागि स्थगित गरेको छ । हिजो साँझ ५ बजेदेखि वीरगन्जमा लगाएको कर्फ्यु बिहान ६ बजेदेखि १० बजेसम्मका लागि स्थगित गरेको हो ।

कर्फ्युका कारण आफ्नो गन्तव्यसम्म जान नसेकेका यात्रुलाई सहजता प्रदान गर्न र सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिद विक्रीका लागि कर्फ्युलाई चार घण्टा स्थगित गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए।

उनले अहिले बिहान साढे ११ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक डाकिएको र सो बैठकबाट परिस्थितिको मूल्याङ्कन गरी कर्फ्युलाई निरन्तरता दिने नदिनेबारे निर्णय गरिने बताए।

रौतहटको विषयलाई लिई हिजो वीरगन्जमा भएको विरोध जुलुसपछि ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएपछि शान्ति सुरक्षालाई कायम राख्ने प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो । नगरको सुरक्षा व्यवस्थालाई कायम राख्न स्थानीय प्रशासनले वीरगन्जको चोकचोकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्